विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु. ३ अर्ब ३७ करोड ८१ लाख बराबरको बजे सार्वजनिक गरको छ ।
महानगरको छैठौं नगरसभामा उप–प्रमुख इन्दिरा कार्कीले वार्षिक आय व्ययको अनुमान प्रस्तुत गरिन । उल्लेखित बजेट महानगरको आन्तरिक स्रोतबाट रु.८९ करोड ८२ लाख १६ हजार ७ सय, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट रु. ७६ करोड ८२ लाख ५२ हजार ९ सय ४० र संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु. ३८ करोड ७ लाख ६८ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
महानगरले संघीय सरकारबाट सशर्त अनुदानबाट रु. १ अर्ब २ करोड ९ लाख, प्रदेश सरकार सशर्त अनुदानबाट रु. २ करोड १० लाख ९ हजार १ सय ८०, विशेष अनुदानतर्फ संघीय सरकारबाट रु.१३ करोड, प्रदेश सरकार समपूरक अनुदानबाट रु. ३ करोड प्राप्त गर्ने अनुमान गरिएको छ ।
वैदेशिक तथा अन्य संघसंस्थाको अनुदानबाट रु. ३ करोेड २६ लाख ७८ हजार १ सय ८० र जनसहभागिताबाट रु. ९ करोड ६२ लाख ५ हजार आर्जन हुने अनुमान गरिएको उप–प्रमुख कार्कीले बताइन ।
महानगरको प्रशासनिक खर्च तर्फ रु. ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ रु. ३६ करोड र ल्याडफिल्डको जग्गा खरिदसहित वातावरण तथा फोहोरमैला व्यवस्थापन तर्फ रु. ११ करोड ४९ हजार ५० हजार विनियोजन गरिएको छ ।
अन्य पूँजीगत खर्च तर्फ रु.१ अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको कार्कीले जनाइन । चालू आर्थिक वर्षको लागि विराटनगर महानगरले रु. ५ अर्ब भन्दा बढीको बजेट ल्याएको थियो ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ को प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताले कोभिड १९ को प्रभावका कारण जनजीवन र आर्थिक क्षेत्रसमेत कठिन अवस्थामा पुगेको बताए ।
महानगरका मेयर भीम पराजुलीले संकटका बाबजुत महानगरले जनअपेक्षाअनुसार विकासका कार्यलाई निरन्तरता दिएको बताए । भने,“कोभिडको चुनौतीको सामना गर्दै हामी विकास पथमा लम्कनुको विकल्प छैन ।” प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले संघीय सरकारले बजेट र अनुदान दिन विराटनगरलाई भेदभाव गर्ने गरेको बताए ।
नेपाली कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बूले ऐतिहासिकता बोकेको विराटनगर नयाँ परिचयसाथ विकासपथमा अघि बढेको बताए । प्रदेश १ का कांग्रेस प्रमुख सचेतक केदार कार्कीले विराटनगरको विकास अघि बढिरहेको भएपनि वडाहरुले समेत गति लिनुपर्ने बताए । नेकपाका विराटनगर अध्यक्ष सागर थापाले जनतामाझ गरिएका प्रतिबद्धता पूरा गर्न चुक्न नहुने बताए । नगरसभामा प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको थियो ।