काठमाडौं ।लकडाउनको समयमा बन्द रहेको फर्म दर्ता तथा नविकरणको कामलाई सोमबार देखि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुनः संचालन गरेको छ ।
विभागले सोमबार देखि फर्मको दर्ता, नविकरण, संशोधन, नामसारी, खारेजी जस्ता अवरुद्ध सेवाको लागि इमेल बाट काम शुरु गरेको हो । भागिको इमेलमा आवश्यक कागजात पठाउन व्यवसायीलाई आग्रह गरेको छ । आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाइएको छ ।
साना कामका लागि कार्यालयमा आउन नपर्ने वातावरण सिर्जना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकरी दिए । उनका अनुसार व्यवसाय दर्तालगायत विभागबाट प्रवाह हुने सम्पूर्ण सेवाका लागि आवश्यक कागजपत्र मेल गरेपछि व्यवसायीलाई सबै कागजपत्र लिएर आउन आग्रह गर्नेछ । उनले भने, आवश्यक काजगपत्र नपुगेर कार्यालयबाट फर्कन भन्दा मेल गर्दा सहज हुन्छ भन्ने उद्देश्यले व्यवसायीलाई मेल गर्न आग्रह गरेका हौँ ।’
विभागले आइतबार, मङ्गलबार र शुक्रबार ६० लाखभन्दा कम पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, सोमबार प्राइभेट फर्म नयाँ दर्ता, बुधबार ६० लाखभन्दा माथि पूँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य हुने जनाइएको छ ।
यसैगरी बिहीबार साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता÷नवीकरण संशोधनलगायत सेवा प्रवाह हुने जनाइएको छ । विभागबाट हुने कार्यका लागि कानुन व्यवसायी, व्यवसायीका साथी वा व्यवसायीसँग अन्य सदस्य आवश्यक नपर्ने र उनीहरुलाई प्रवेश निषेध गरिएको जनाइएको छ ।
विभागले बजार अनुगमनका क्रममा कारवाहीस्वरुप जरिवाना गरिएका फर्मको शुल्क बुझाउन उपभोक्ता सहायतासम्बन्धी कार्य तथा निकासीपैठारी इजाजत सम्बन्धी कार्य सार्वजनिक बिदा बाहेकका दिनमा दैनिक सञ्चालन भएको जनाएको छ ।