कोरोना भाइरसका कारण स्थगित भएको फुटबल तीन महिनापछि इटालीमा फर्किएको छ । घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग बराबरी खेलेपछी युभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार भएको खेलमा युभेन्टसले मिलानसँग गोलरहित बराबरी खेलेपनि अवे गोलको आधारमा उपाधि भिडन्तको अवसर पाएको हो ।
खेलको १६ औं मिनेटमा युभेन्टसले अग्रता बनाउने अवसर पाएको थियो ।
पेनाल्टी क्षेत्रमा मिलानका खेलाडीले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चुकेका थिए । उनले प्रहार गरेको बल गोलपोस्टको पोलमा लाग्दै फर्किएको थियो ।
कोपा इटालिया अन्तर्गत युभेन्टस र मिलानबीच सेमिफाइनलको पहिलो लेग करिब चार महिना अगाडि मिलानको घरेलु मैदानमा भएको थियो । जहाँ दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।
खेलको १७ औं मिनेटमा मिलान १० खेलाडीमा समेटिएको थियो । रोनाल्डोको पेनाल्टीबाट फर्किएको बल मिलानका खेलाडीले गरेको लामो प्रहारलाई युभेन्टसका डिफेन्डर ड्यानिलोले हेडिङ गर्न खोज्दा मिलानका अर्का खेलाडीले ट्याकल गरेका थिए । उक्त गम्भीर ट्याकलका कारण रेफ्रीले सोझै रातो कार्ड देखाएपछी मिलान १० खेलाडीमा समेटिएको थियो ।
सुरुआती समयमा नै मिलान १० खेलाडीमा समेटिए पनि युभेन्टसले त्यसको फाइदा उठाउन सकेन । निर्धारित समयको खेलमा दुबै टोलिबाट कुनै गोल हुन नसकेपछि युभेन्टसले अवे गोलको आधारमा फाइनलमा स्थान बनएको हो ।
अब युभेन्टसले उपाधिका लागि दोस्रो सेमिफाइन खेलको विजेता टोलि नेपोली र इन्टर मिलान मध्री एकसँग खेल्ने छ । नेपोली र इन्टर मिलानबीचको दोस्रो लेग शनिबार राति हुनेछ । पहिलो लेगमा नेपोलीले इन्टर मिलानमाथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ ।
इटालिको शिर्ष डिभिजनको लिग भने जुन २० बाट सुरु हुँदैछ ।