मार्चमा कोरोना भाइरस महामारीका कारण च्याम्पियन्स लिग स्थगित हुनु पूर्व एथ्लेटिकोले शीर्ष १६ मा इंग्लिस प्रिमियर लिग लिडर क्लब लिभरपुललाई पराजित गर्दैै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको थियो । स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने क्लबका अध्यक्ष एनरिक सेरेजोले बताएका छन् ।
उनले फ्यानविना पनि च्याम्पियन्स लिगको उपाधि जित्न सक्ने बताएका हुन् ।
च्याम्पियन्स लिग अगस्तमा पुनः सुरु हुन सक्नेछ । जर्मन बुन्डेसलिगा सुरु भइसकेको छ भने स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ए यसै महिना सुरु हुने तयारीमा छन् ।
एथ्लेटिकोले जुन ११ मा एथ्लेटिक बिल्बाओसँग खेल्दै लिगको यात्रा सुरु गर्र्नेछ । एथ्लेटिको लिगका ११ खेल बाँकी रहँदा अंक तालिकाको छैटौं स्थानमा छ ।
एथ्लेटिकोले २०१४ र २०१६ मा दुई च्याम्पियन लिग उपाधि फाइनलमा गुमाएको थियो । तर सेरेजोले यस सिजनको च्याम्पियन्स लिग उपाधि जित्न सक्ने बताए । “हामी धेरै विशेष छौं । दर्शकविना पनि हामी च्याम्पियन्स लिग जित्न सक्छौं । यो हाम्रो वर्ष हुन सक्छ,” क्लबका अध्यक्ष एनरिकले भने, “घरेलु लिगमा भने हामी गाह्रो अवस्थामा छौं ।
तर, च्याम्पियन्स लिगमा हामी धेरै राम्रो अवस्थामा छौ । जहाँ फाइनलमा पुग्न केही खेल टाढा छौं, जुन हामी पूरा गर्न चाहन्छौं ।”