धरान । धरान उपमहानगरपालिकाको आन्तरिक आम्दानीमा कमी आए पछि धरानका योजनाहरुमा ५० प्रतिशत भन्दा बढी कटौती हुने भएको छ ।
कोरोनाको संक्रमितको संख्या बढ्दै गएको अवश्थामा सरकारले घोषणा गरेको लडाउन पनि लम्बिदै गए पछि धरानको आन्तरिक राजस्व संकलनमा कमी आएको छ भने प्रदेश सरकारबाट आउने ३० करोड रुपैया नआउने निश्चित भएको छ । जसका कारण वडाको योजना, नगर स्तरीय योजना ५० प्रतिशत भन्दा बढी कटौती हुने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए ।
उनका अनुसार शुरु नभएको नगर गौरवका योजना, वडाको पनि योजनाहरू कटौती र सम्झौता नभएका योजनाहरू सम्झौता नगर्ने, भर्खर मात्र सुरु भएका र पुरा नभएका योजनालाई कार्यान्वयन नगर्ने, र जुन योजनाहरू ८० प्रतिशत काम भइसकेको छ, तिनीहरू मात्र अघि बढने भएका छन् ।
लकडाउनका कारण धरानको भौतिक पूर्वाधार विकासको बजेट कटौती गरेर उपमहानगरपालिकाले राहत वितरणमा खर्च गर्नुपर्ने अवस्था आएको मेयर राईले बताए । उनले भने, ‘विदेशबाट र विभिन्न संसंस्थाबाट भएको सहयोग २० देखि २५ प्रतिशत मात्र राहतमा सहयोग भएको छ । बाँकी ७५ प्रतिशत बजेट उपमहानगरपालिकाकै बजेटबाट व्यवस्थापन गर्नुपरेको छ ।’ राहत सहयोगमा खर्च भएको रकम कुनै न कुनै योजना, भौतिक पुर्वाधार, चालु बजेटबाटै कटौती गर्नुपर्ने स्थिती रहेको उनले बताए ।
योजना कटौती गरेर राहतमा रकमान्तर गर्न केही समयको लागि मात्र भए पनि नगर सभा बस्नुपर्ने हुन्छ । यसको लागि पारदर्शिता र प्रक्रिया पुरा गर्नको लागि नगर सभा छोटो समयको लागि भए पनि बस्ने मेयर राईले बताए ।